कोरियामा लाईन फोन लिँदै हुनुहुन्छ?यि कुराहरुमा बिचार पुर्याउनुस !
- by siddhartha@post
- 1 year ago
- 0 comments

कोरिया आइसकेपछि तपाईलाई ब्यक्तिगत सम्पर्क नम्बर आवश्यक पर्छ अर्थात तपाइलाई मोवाइलको आवश्यकता पर्छ । बैंक खाता खोल्न, काम खोज्न लगायतका विविध कार्यका लागि कोरियामा आफ्नै व्यक्तिगत सम्पर्क नम्बर हुनु अनिवार्य जस्तै हुन्छ । हुन त नेपालबाट आउँदा नेपालमै प्रयोग गरिरहेको मोवाइल (जुन सिम राखेपनि चल्ने छ भने ) सोही मोवाइलमा मिल्ने सिम मात्र किनेर चलाउन पनि सकिन्छ ।
त्यसो गर्दा मोवाइलमा हुने मासिक खर्च जोगिन्छ ।स्मार्टफोनले पहिले (केही बर्ष अघि) भन्दा अहिले धेरै कुरामा सजिलो बनाइदिएको छ । सामान्य अर्थमा भन्नुपर्दा हाम्रो जीबनयापनको महत्वपूर्ण पाटो मोवाइल बनिसकेको छ । कोरियामा स्कुले बच्चाबच्ची देखि बुढापाका सम्म सबैले मोवाइलको प्रयोग गर्छन । यस्तैमा तपाईलाई पनि मोवाइल पक्कै चाहिन्छ । आज हामी कोरियामा नयाँ मोवाइल किन्दा अझ भनौं कुनै कम्पनीमार्फत करारमा मोवाइल लिंदा ध्यान दिनुपर्ने ५ पक्षहरुको बारेमा चर्चा गदैछौं ।कोरियामा किस्तामा पैसा तिर्नेगरी मोवाइल लिदा कन्ट्रयाक्टमा सामेल हुने कुरा, देखि मोवाइल डिभाइसका फिचरहरुसम्म निम्न कुरामा ध्यान दिनुभयो भने अनावश्यक झण्झटहरु कम हुन्छन् ।
१. निर्माता र अपरेटिङ सिस्टमको छनौट
फोन किन्न स्टोरमा जानुअगावै निर्धारण गर्नुस् कि तपाईलाई कुन कम्पनीको मोवाइल आवश्यक छ वा लिन इच्छा छ । कोरियामा धेरै कम्पनीका मोवाइलहरु पाइन्छन् । धेरैको रोजाइमा भने एप्पलको आइफोन, सामसुङको ग्यालेक्सी र नोट सिरिजका फोन र एल जि सिरिजका फोन पर्नेगरेका छन् । आइओएस र एन्ड्रोइड वा विन्डोज मध्ये कुन अपरेटिङ सिस्टम चलाउन सहज हुन्छ सोही अनुसारका मोवाइल छान्न सक्नुहुन्छ । अपरेटिङ सिस्टमअनुसारका फिचरहरु फरक फरक हुने भएकाले आफुले लिन आँटेको मोवाइलमा हुने सुविधाका वारेमा पहिले नै खोजी गर्नु बुद्धिमानी हुन्छ ।
२. कुन टेलिकमको प्रयोग गर्ने
कोरियामा मुख्यगरी ३ मोवाइल सेवा प्रदायकहरु छन् :एल जि यु प्लस( LG Uplus) ,एसकेटी(SKT),के.टी ( KT) । कम्पनी अनुसार मासिक प्लान, नियम तथा सेवाहरु फरक फरक भएकाले मोवाइल करारमा लिनुभन्दा पहिलेनै आफुले लिन लागेको प्लानमा रहेका सेवा सुविधाहरुका वारेमा एथेष्ट जानकारी लिनुहोस् ।कोरियामा मोवाइलको प्रयोग फोनमा बोल्नका लागी भन्दा पनि इन्टरनेट चलाउनका लागि हुने हुँदा तपाइले लिन लागेको क्यारियरमा इन्टरनेट स्पीड कति छ, डाटा प्लान कति हो, डाटा सकिएपछि इन्टरनेट कति स्पिडमा चल्छ आदि कुरा ध्यान दिनुपर्छ । नत्र फेसबुक खुल्छ तर फेसबुकमा राखिएका फोटाहरु खुल्दैनन्, भिडियोहरु हेर्न पाईंदैन । अर्थात इन्टरनेट सुस्त चल्छ ।
३ . मासिक शुल्क
माथि उल्लेख गरिएका ३ वटै सेवा प्रदायकहरुले आ–आफ्नै किसिमका मोवाइल प्लानहरु बजारमा ल्याइरहन्छन् । ति प्लान अनुसार मासिक शुल्क पनि फरकफरक हुन्छ । मासिक शुल्क तपाइले तिर्नुपर्ने बेसिक फि, प्याकेज भ्वाइस, टेक्स्ट आदिको फि, डाटा प्रयोग गरेवापतको फि र अन्य थप केही सुविधा छन् भने तिनको प्रयोग शुल्कसहित एकमुष्ट आउँछ जसमा तपाइले प्रयोग गरिरहनुभएको मोवाइलको मोडलले पनि फरक पार्छ । कतिपय सेवाहरु पहिलो दोस्रो वा तेस्रो महिनासम्म राखेर हटाउन मिल्ने पनि हुन्छन् भने कुनै छ महिनासम्म चलाउनुपर्ने हुन्छ । करारमा मोवाइल लिनुअगावै के–के सुविधा वापत कति पैसा लाग्छ भन्ने सोध्नुपर्छ ।
४. करार अवधी र करार रद्द गर्ने समय
तपाइले लिन लाग्नुभएको मोवाइल, लिने प्लान र कम्पनी अनुसार सेवा प्रदायक र तपाईंवीच हुने करार फरकफरक हुन्छ । कोरियामा सामान्यतया मोवाइल फोनको करार २ वर्षको हुन्छ । यदि तपाईंले करार समयावधि अगावै रद्द गर्न चाहानुभएमा रद्द गरेवापत छुट्टै शुल्क लाग्छ । यसरी विचमै करार रद्द गर्दा मोवाइल सेटको मूल्य समेत एकमुस्ट तिर्नुपर्ने हुनसक्छ ।
५. आवश्यक कागजात र प्रक्रिया
करारमा मोवाइल लिनुअघि तपाई जान लागेको सेवा प्रदायकले के–कस्ता कुराहरुको माग गर्छ थाहा पाइराख्नुपर्छ । मोबाईल करारमा किन्न तपाईसंग एलिएन कार्ड ( 외국인등록증) अनिवार्य हुनैपर्छ।भिषा अवधी कम छ भने करारमा मोवाइल लिन नमिल्न पनि सक्छ । एकैपटक मोवाइल सेटको मूल्य तिरेर लिनुपर्ने पनि हुनसक्छ । मोवाइल शपमा गएर आँफैले सबै कुरा गर्न भाषाले समस्या पार्छ भने नजिकैको र विश्वसनिय व्यक्ति वा विश्वासिलो भाषा जान्ने साथीको सहयोग लिन सकिन्छ तर आफुले लिन लागेको मोवाइल, आउने मासिक विल, विचमा करार रद्द गर्नुपरेमा लाग्ने शुल्क, समावेश हुने सेवाहरु, आदि वारेमा राम्रोसंग बुझेर मात्र करार गर्नुहोस् ।
सकेसम्म नेपाली नै भएको पसलमा गएर राम्रोसंग बुझेर मात्र लिनुहोला।कोरियामा अहिले पछिल्लो समयमा दोङ्देमुन मा रहेको एच डी मोवाईल,सुवनमा फोननारा मोबाईल,हेल्लोबेल मोबाईल सप,थेबाक मोबाईल लगायत धेरै छन ।माथी उल्लेखित पसलहरुमा नेपालीहरु नै भएकोले राम्रोसंग बुझेर लिन सकिन्छ।एउटै व्यक्तिको नामबाट २–३ वटा मोवाइल निकालिदिएर प्रयोग गरिदिएको,अनावश्यक फिचर प्रयोग गरेर अत्यधिक बिल आउने जस्ता गुनासाहरु बेलाबेलामा सुन्न पाइन्छ, हाम्रो चाहाना यत्ति छ कि तपाइले पनि त्यस्ता समस्या झेल्नु नपरोस्, हामीले सुन्नु नपरोस् ।
गुरुदत्त न्यौपाने द्वारा तयार पारिएको